वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रले जुलाई महीनामा अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरेको छ ।
गत महीना अर्थतन्त्रमा ९ लाख ४३ हजार नयाँ रोजगारी थपिएका छन् । विलासिता र आतिथ्य, शिक्षा र पेशागत सेवासमेतका क्षेत्रमा भएको वृद्धिका कारण रोजगारी सृजनामा टेवा मिलेको हो ।
समीक्षा अवधिमा औसत ८ लाख ७० हजार रोजगारी सृजना हुने बताइएको थियो । हालैका दिनमा कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिन्टको संक्रमण बढेसँगै रोजगारी बजारमा देखिएको यो सुधार छोटो हुने चिन्ता गरिएको छ ।
महामारीका कारण नयाँ प्रतिबन्ध लागू हुने भय पनि छ । जुलाईमा भएको रोजगारी सृजनासँगै अमेरिकी बेरोजगारी दर शून्य दशमलव ५ प्रतिशतले घटेर ५ दशमलव ४ प्रतिशतमा आएको छ । समग्रमा ८७ लाख मानिसहरु बेरोजगार छन् ।
यो गत वर्षको अप्रिलको तुलनामा निकै कम भएपनि सन् २०२० को फेब्रुअरीमा महामारी शुरु हुनु अघिको तुलनामा चाहीं निकै धेरै हो । एजेन्सी