अमेरिकामा आधा जनसंख्याले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


     नेपालय न्युज,     
     साउन २३ गते २०७८


वासिङ्टन । अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।

विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् । पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले बताएका छन् ।

खोप लगाउनेको सङ्ख्या तीव्ररुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् । अपेक्षितरुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विषेश अनुरोध गर्दै आएको छ ।

खोप लगाउनेको सङ्ख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो ।

कोरोनाभाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म ३ करोड ६४ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यसैगरी ६ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । रासस/ एएनआई

WP2Social Auto Publish Powered By : XYZScripts.com