तथ्यांक दुरुपयोग गरेको अभियोगमा अमेजनलाई साढे ८८ करोड डलर जरिबाना

-


     नेपालय न्युज    
     श्रावण १६ गते २०७८


साउन १६, ब्रसेल्स । अमेरिकी अनलाइन कम्पनी अमेजनलाई यूरोपेली संघ(ईयू) तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको अभियोगमा ८८ दशमलव ६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ ।

त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्यांक सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्यांकलाई छनोट गरेको दाबी गरेको छ ।

अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने बताएको छ ।

लक्जेम्बर्गको तथ्यांक सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भएपनि यो अहिले चर्चामा आएको हो । ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो ।

अमेजनका प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

उनले कुनै तथ्यांकको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रो पक्षलाई दिइएको पनि छैन भनेका छन् ।उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वीकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताए । रासस/ एएफपी

WP2Social Auto Publish Powered By : XYZScripts.com