
साउन १२, टोकियो (जापान) । जापानको राजधानी टोकियोमा चलिरहेको ओलम्पिक्समा दिनहुँ कोरोना भाइरस संक्रमित फेला परिरहेका छन् ।
मंगलवार प्रतियोगिता सम्बद्ध थप सात जना व्यक्तिमा संक्रमण पुष्टि भएको आयोजक समितिले बताएको छ । आयोजकहरुका अनुसार विदेशबाट आएका खेलाडीसमेत सात जनाको कोरोना भाइरसको परीक्षणको नतिजा सकारात्मक आएको छ ।
योसँगै यही महीनाको शुरुमा टोकियो ओलम्पिक्स र पारालिम्पिक्स आयोजक समितिले प्रतियोगितासम्बद्ध संक्रमितको संख्या सार्वजनिक गर्न थालेयता कुल संक्रमित संख्या १५५ पुगेको छ । मंगलबार संक्रमण पुष्टि भएका दुई जनामध्ये एक खेलाडी डच टेनिस खेलाडी भएको बताइएको छ ।
यिनीहरु दुबै एथलिट्क्स भिलेजमा बसिरहेका थिए । बाँकी रहेका संक्रमितमा तीन जना प्रतियोगिता सम्बद्ध अधिकारी, एक जना ठेकेदार र अर्का एक जना आयोजक समितिको सदस्य भएको बताइएको छ ।
सात जनामध्ये पाँच जना विदेशबाट आएको पनि आयोजकहरुले बताएका छन् । आइतवारसम्ममा विदेशबाट प्रतियोगिताको लागि जापान ३७ हजार ५७९ जना आएका छन् । यस तथ्यांकमा केन्द्र र स्थानीय सरकारले घोषणा गरेको संक्रमितको संख्या समावेश गरिएको छैन ।
शुक्रवार टोकियो ओलम्पिक्स शुरु हुनु अघि प्रतियोगिताको प्रतिस्पर्धा हुने स्थलमा सुरक्षाकर्मीका रुपमा काम गरिरहेका थप तीन जना अधिकारीमा पनि संक्रमण देखिएको मंगलवार टोकियो महानगर सरकारले बताएको छ । एजेन्सी