
साउन १२, न्यूयोर्क (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ बढेको छ ।
अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन क्रिप्टोकरेन्सीको क्षेत्रमा प्रवेश गर्न लागेको अड्कलबाजी बीच भाउ बढेको हो । एमाजनले ‘डिजिटल करेन्सी र ब्लकचेन प्रडक्ट लिड’ शीर्षकमा कर्मचारी माग्दै विज्ञापन खुलाएपछि यस्तो अड्कलबाजी बढेको हो । विगत २४ घन्टाभित्रको कारोबारमा बिट्क्वाइनको भाउ बढेर प्रतिगोटा ४० हजारमा पुगेको थियो ।
व्यापारीहरुले शर्ट पोजिशनमा बसेर बिट्क्वाइनको खरीदविक्री बढाउँदा पनि भाउले टेवा पाएको अनुमान गरिएको छ । कर्मचारी मागसम्बन्धी विज्ञापनमा एमाजन डिजिटल करेन्सी र ब्लकचेन रणनीति तथा प्रडक्ट मार्गचित्रको विकासका लागि अनुभवी प्रडक्ट लिडर खोजिएको एमाजनले बताएको छ ।
कम्पनीको जागिरसम्बन्धी विवरणमा ब्लकचेन शब्द समावेश गरिएको ७४ ओटा पद रहेका छन् । तर यी सबै जागिर ब्लकचेन विकाससँग सम्बन्धित नहुन पनि सक्ने र कम्पनीले ब्लकचेनको पृष्ठभूमिलाई जागिरका लागि आवेदन दिन चाहनेको सान्दर्भिक अनुभवको रुपमा मात्रै हेरेको हुन सक्ने अनुमान गरिएको छ ।
कम्पनीले यस वर्षको अन्त्यदेखि क्रिप्टोकरेन्सीमा भुक्तानी लिन थाल्ने र सन् २०२२ मा आफ्नै डिजिटल क्वाइन जारी गर्न सक्ने समाचारलाई कपोकल्पित भन्दै एक विज्ञप्ति जारी गरेर एमाजनले भनेको छ । एजेन्सी