क्रियाशील सदस्यता विवादलाई देखाउँदै अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

-


     नेपालय न्युज    
     श्रावण ६ गते २०७८


नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।

निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना कार्यकर्ता र युवाहरुलाई नसमेटेर क्रियाशील सदस्यता वितरण गरेको आरोप उनले लगाएका छन्। सिंहले नराम्रा छविका र पार्टीसँग अपरिचित व्यक्तिलाई मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरी समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने प्रयास भइरहेको गुनासोसहित राजीनामा दिएका हुन्।

‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार व्यवहार प्रस्तुत हुँदा निष्ठावान कार्यकर्तामा निराशा बढेको छ’, उनले भनेका छन्, ‘प्रदेशमा कांग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पैदा गराएको छ। यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको छ।’
प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु आफ्नो मूल कर्तव्य बनेको उनको भनाइ छ।

‘मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुन:स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु,’ सिंहले राजीनामा पत्रमा भनेका छन्।

पार्टी कार्यालयमा सानेपामा केही दिनयता सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ता अनशनमा छन् । पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव त आमरण अनशनमै बसेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com