उद्योग व्यवसायलाई बचाउन राहत प्याकेज ल्याइन्छ : प्रधानमन्त्री

-


     नेपालय न्युज    
     श्रावण ६ गते २०७८


साउन ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गर्नुभएको छ ।

बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई महामारीबाट मुक्त गराउन उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै यसको नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मिहेनती भएको बताउँदै उहाँले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजीक्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु पहिलो प्रथमिकता भएको बताउँदै प्रधानमन्त्री देउवाले आर्थिक विकास र लगानी प्रवर्द्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो।

विकास पहिलो प्राथमिकता भएपनि त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो भन्दै उहाँले महामारीबाट पार पाउनु चुनौतीपूर्ण रहेकाले सरकोको पहिलो प्राथमिकता खोपको व्यवस्था नै भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com