
साउन ६, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी स्ट्रिमिङ सेवा नेटफ्लिक्सले अहिलेसम्मकै उच्च आम्दानी गरेको छ
यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ७ अर्ब ३० करोड डलर नाघेको नेटफ्लिक्सले मंगलवार बताएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । आम्दनी बढेको भएपनि सो अवधिमा कम्पनीको सब्सक्रिप्शन चाहीं अघिल्ला त्रैमासहरुको तुलनामा न्यून रहेको छ ।
सो अवधिमा कम्पनीले १ अर्ब ३० करोड डलर खूद मुनाफा गरेको छ । समीक्षा अवधिमा १५ लाखले नेटफ्लिक्स सब्सक्राइब गरेका छन् । योसँगै विश्वभर कुल सब्सक्रिप्शन संख्या २० करोड ९० लाख पुगेको छ ।
नयाँ सब्सक्राइबर संख्यामा भएको यो वृद्धि कम्पनीको आफ्नै अनुमानभन्दां धेरै भएपनि अघिल्ला त्रैमासहरुको तुलनामा चाहीं कम हो । अमेरिका र विश्वका अन्य हिस्सामा पनि कोरोना भाइरस विरोधी खोप कार्यक्रम अगाडि बढेसँगै विद्यालय र कार्यालयहरु खुल्ने क्रम बढ्दा सब्सक्राइबर संख्या वृद्धि सुस्ताएको हो ।
कम्पनीले भिडियो गेम व्यवसायमा प्रवेश गर्ने योजनाको पनि घोषणा गरेको छ । यसले कम्पनीको वृद्धिमा मद्दत गर्छ कि गर्दैन भनेर विश्लेषकहरुले हेरिरहेका छन् । एजेन्सी