
पोखरा ।
अनेरास्ववियु स्थाई कमिटीका सदस्य तथा पृथ्वीनारायण क्याम्पसका कार्यबाहक अध्यक्ष सन्तोष न्यौपानेले आफुमाथि झुठा आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले “नयाँ खोज नेपाल” नामक अनाधिकृत अनलाइन प्रोटलमा आफ्नो तस्वीर समावेश गरी लेखिएको समाचार भ्रामक र गलत भएको उल्लेख गरे ।
सम्पादकको नाम, दर्ता नं र सम्पर्क नं समेत उल्लेख नगरिएको अनलाइनमा लेखिएको समाचार कुण्ठाले भरिएको विक्षप्त आरोप मात्र भएको उनले बताए । न्यौपानेले खुट्टा तानेर अगाडि जाने नेपाली राजनीतिको परिपाटी बदलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । उनले गलत आक्षेप र आरोप लगाएर बदनाम गर्ने अनलाइन र उक्साउने सबै पक्षलाई कडा भन्दा कडा कानुन बमोजिमको कारबाहीको दायरामा ल्याएरै छाड्ने चेतावनी दिए ।
विगत ८ वर्षको राजनीति करिअरमा कोही कसैसँग मागेर खानुपर्ने अवस्था नआएको र अहिलेपनि निरन्तर पोखराको अञ्जुली बोर्डिङ स्कुलमा अध्यापन गराएर जीविको पार्जन गरिरहेको उनले जनाए । कोही कसैसँग मागेर वा धम्काएर राजनीतिक क्षेत्रमा अगाडि बढेको आधाकारिक प्रमाण भेटिए जस्तो सुकै कारबाही भोग्न तयारी रहेको समेत उनले उल्लेख गरेका छन् । न्यौपानेले विगतमा पनि आफुलाई ज्यान मार्ने धम्की आएको बताए । सकारात्मक बाटोबाट हिँडीरहँदा पटकपटक व्यक्तिगत रुपमा आरोप,धम्की,कुण्ठा खेप्नुपरेता पनि आफ्नो राजनीतिक कार्यदिशा र लक्ष्य प्रति अडिक रहेर संघर्ष निरन्तर गरिरहने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो समय राजनीतिक घटनाक्रमका विषयमा खरो उत्रने युवा नेता हुन् न्यौपाने । खासगरी पुष ५ गते निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अंसवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध पोखराबाट सडक आन्दोलनमा न्यौपानेको नेतृत्वदायी भूमिका थियो ।