१० दिनदेखि लगातार बाडुल्की लागेपछि ब्राजिलका राष्ट्रपति जयार बोलसोनारोलाई अस्पताल भर्ना

-


     नेपालय न्युज    
     असार ३१ गते २०७८


ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई १० दिनदेखि लगातार बाडुल्की लागेका कारण अस्पताल भर्ना गरिएको छ । यसका लागि उनको आकस्मिक शल्यक्रिया गराउनुपर्ने सम्भावना भएको बताइएको छ । ब्राजिलको राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको हो ।

उनको आन्द्रामा केही बाधा भएको हो कि भनेर परीक्षण गर्नका लागि उनलाई साओ पाउलोको एक अस्पतालमा भर्ना गरिएको छ ।

बोलसोनारोले पनि यसबारे एउटा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म चाँडै निको भएर फर्किनेछु ।’

६६ वर्षीय बोलसोनारोको स्वास्थ्यको विषयमा सन् २०१८ देखि नै चिन्ता जताइँदै थियो किनभने सन् २०१८ मा चुनाव प्रचारको क्रममा एक हमलाकर्ताले बोलसोनारोमाथि चक्कूमार्फत् हमला गरेका थिए जसका कारण उनको आन्द्रामा गम्भीर चोट लागेको थियो ।

यो घटनामा बोलसोनारोको ४० प्रतिशत रगत बगेको थियो । उनले यसका लागि अहिलेसम्म थुप्रै पटक शल्यक्रिया गराइसकेका छन् ।

राष्ट्रपति बोलसोनारोलाई बुधबार ब्रासिलियास्थित सैनिक अस्पताल पुर्याइएको थियो जहाँ उनी डाक्टरको निगरानीमा थिए ।

तर पछि सन् २०१८ देखि बोलसोनारोको उपचार गराइरहेका डाक्टर एन्टोनियो लुइज माकेडेले उनको थप उपचारका लागि साओ पाउलो लैजानुपर्ने बताए ।

ब्राजिल सरकारका एक वरिष्ठ अधिकारीले बोलसोनारोलाई निद्रा लाग्ने औषधी दिएर ब्रासिलियाबाट साओ पाउलो लगिएको बताए ।

राष्ट्रपति बोलसोनारोमाथि हमला गर्ने एडेलिओ बिस्पो डे ओलीवेरालाई भीडले नियन्त्रणमा लिएको थियो ।

कुरा गर्न समस्या भइरहेको थियोः

बोलसोनारोका छोरा फ्लावियोले सीएनएन ब्राजिलसँगका कुराकानीमा उनको पिताको पेटमा भरिएको पानी निकाल्नका लागि ब्रासिलियामा उनको सामान्य शल्यक्रिया गर्नुपरेको जानकारी दिए । छोराका अनुसार उनका पितालाई कुरा गर्न समस्या भइरहेको थियो जसका कारण उनलाई अस्पताल लैजानुपरेको हो ।

यसैबीच जायर बोलसोनारोले एउटा तस्बिर ट्वीट गरेका छन् जसमा उनी अस्पतालको बेडमा देखिएका छन् र उनको शरीरमा केही केबल र सेन्सर राखिएको देख्न सकिन्छ ।

करिब साढे दुई वर्षको आफ्नो विवादित कार्यकालपछि जायर बोलसोनारोलाई कोभिड–१९ को प्रबन्धनको विषयमा विभिन्न प्रश्न सोध्ने गरिन्छ । उनले कोरोना महामारीलाई गम्भीरताका साथ नलिएको भन्ने धेरैको आरोप छ ।

यसै महिनाको सुरुवातमा ब्राजिलमा उनीविरुद्ध थुप्रै विशाल प्रदर्शन पनि भए । प्रदर्शनमा संलग्न मानिसहरुको आरोप थियो कि बोलसोनारोले कोरोना भ्याक्सिनको खरिदमा भ्रष्टाचार गरे ।

बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com