साउदी युवराज सलमानप्रति यति नरम किन भए राष्ट्रपति बाइडेन ?


     नेपालय न्युज,     
     असार ३० गते २०७८


अमेरिकाका राष्ट्रपति बन्नुअघि जो बाइडेन पत्रकार जमाल खग्गोसीको हत्याको विषयमा साउदी अरबको भूमिकाको विषयमा निकै कडा थिए । यस्तो लाग्थ्यो कि उनी राष्ट्रपति बनेपछि पनि यो मामिलामा साउदी अरबको विषयमा कुनै पनि लचकता देखाउने छैनन् ।

राष्ट्रपतिको रुपमा उनले फेब्रुअरी महिनामा त्यो गोप्य रिपोर्ट जारी गर्न अनुमति दिएका थिए जसमा हत्याको मामिलामा साउदी अरबका युवराज मोहम्मद बिन–सलमानमाथि शंका गरिएको थियो ।

यद्यपि, युवराजले हत्यामा आफ्नो कुनै पनि भूमिका नभएको बताउँदै आएका छन् ।

तर राष्ट्रपति पद सम्हालेको ६ महिनाभन्दा पनि कम समयमा बाइडेन प्रशासनले युवराजका कान्छा भाइ तथा उप रक्षामन्त्री राजकुमार खालिद बिन सलमानको जोडदार स्वागत गरेका छन् ।

अक्टोबर सन् २०१८ मा खग्गोसीको हत्यापछि साउदी अरबबाट अमेरिकामा यो पहिलो उच्च स्तरीय यात्रा हो ।

लण्डनको थिङ्क ट्याङ्क रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटमा असोसिएट फेलो माइकल स्टिफेन्स भन्छन्, ‘युवराज सलमान र साउदी अरबको छवी पुनः स्थापित गर्नका लागि (रोयल कोर्टमा एमबीएस सर्कलभित्र) अत्यधिक व्यापक रुपमा एक ठोस् प्रयास गरिएको छ । साउदी अरब आर्थिक अवसरमा बढी नै ध्यान दिइरहेको छ र क्षेत्रीय सुरक्षाको विषयमा दिइने उग्र बयानलाई कम गरिएको छ ।’

के युवराजले माफी पाए ?

के यसको अर्थ पश्चिमले युवराज सलमानलाई माफी दिएको हो त ?

होइन, अझ विशेषगरी मानवाधिकार संस्थाले त कुनै पनि हालतमा होइन । यसमा संयुक्त राष्ट्र पनि समावेश छ जसले लगातार मोहम्मद बिन सलमानविरुद्ध पूर्ण रुपमा स्वतन्त्र अनुसन्धानको माग गर्ने गर्छ ।

सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी दूतावासमा युवराज सलमानका आलोचक रहेका पत्रकार जमाल खग्गोसीको हत्या गरिएको थियो ।

यसका लागि १५ साउदी अधिकारी दुई सरकारी जेट्समा इस्तानबुल पुगेका थिए जहाँ उनीहरुले जमाल खग्गोसीको हत्या गरेका थिए ।

जमाल खग्गोसी साउदी दूतावास पुग्ने बित्तिकै उनको घाँटी थिचेर हत्या गरियो र उनको शवलाई टुक्रा बनाएर नष्ट गरियो ।

साउदी अरबबाट टाढा हुन सहज छैनः

आफ्नो दुई दिवसीय यात्राका क्रममा राजकुमार खालिद बिन सलमानले अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सालिविन, रक्षामन्त्री लोयड अस्टिन र चेयरम्यान अफ द जोइन्ट चिफ्स जनरल मार्कसँग भेटघाट गरे ।

भलै राजकुमार खालिदको भ्रमणबारे पहिला नै घोषणा नगरेपनि यो सूचीले यो संकेत दिन्छ कि साउदी अरबलाई अमेरिकाले कति महत्व दिन्छ ।

यी बैठकका बेला थुप्रै मुद्दामा चर्चा गरियो जस्तै – यमनमा युद्ध । यमनमा इरान समर्थिन हुती विद्रोहीलाई हराउन विफल भएपछि साउदी अरब त्यहाँबाट बाहिर निस्कने कोसिस गरिरहेको छ ।

यसबाहेक ऊर्जा, तेल बजार र इरानको परमाणु सम्झौताको अस्थायी रुपमा पुनः सुरु हुनेलगायतका विषयमा पनि कुराकानी भयो ।

अफगानिस्तान पनि एउटा मुद्दा रह्यो जहाँबाट अमेरिकी सेना फिर्ता आइरहेको छ र अमेरिकालाई तालिबानी शासनबीच अल–कायदाले बलियो हुने मौका पाउने हो कि भन्ने डर छ ।

साउदी अरबबारे बुझ्ने कुटनीतिज्ञका अनुसार कहिलेकाँही यो देशसँग व्यवहार गर्न मुश्किल पर्न सक्छ । पश्चिम देशमा युवराजको विषयमा शंका सायद आजीवन चल्नेछ ।

माइकल स्टीफन्स भन्छन्, ‘एमबीएसका लागि स्थिति अहिले पनि सहज छैन । पश्चिमी देश पूर्ण रुपमा समावेश हुन थप समय लाग्नेछ तर साउदी अरबका लाथि स्थिति राम्रो भइरहेको छ र कुनै न कुनै बेला ऊ पुनः पश्चिमी देशको भ्रमणमा आउनेछ ।’

बीबीसी

WP2Social Auto Publish Powered By : XYZScripts.com