
चिनियाँ विदेशमन्त्री वाङ यीले यसैहप्ता मध्य एसियाका ३ देशमा भ्रमण गर्न लागेका छन्।
उनको यस भ्रमणलाई विदेश नीतिका पर्यवेक्षकहरुले अफगानिस्तानमा अमेरिकाले छाडेको ‘शक्तिको रिक्तता’लाई पूर्ति गर्ने कार्यको रुपमा हेरेका छन्।
यसहप्ता विदेशमन्त्री यी तुर्केमिनिस्तान, ताजकिस्तान र उज्बेकिस्तानको भ्रमणमा जानेछन्। यी देशहरु सांघाई सहयोग संगठन एससीओमा आवद्ध मूलुकहरु हुन्।
एससीओमा यी तीन मूलुकसँगै चीन, काजकिस्तान र रुस पनि संलग्न छन्। चिनियाँ विदेशमन्त्रीले एससीओमा आवद्ध राष्ट्रका विदेशमन्त्रीसँग छलफल गर्नेछन्। सो क्रममा अफगानिस्तानसँग सम्पर्कको जिम्मा पाएको एससीओको समूहसँग पनि यीको वैठक हुनेछ।
धेरै अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाले अफगानिस्तान छाडिसकेका छन्। सम्झौताअनुसार यसैवर्षको सेप्टेम्बर ११ सम्म भने बाँकी सबै सेनाले अफगानिस्तान छाडिसक्नु पर्नेछ। अमेरिकी ट्रेड टावरमा आतंकवादी आक्रमण भएको मितिमै तालिबानसँगको २० वर्षे अमेरिकी युद्ध अन्त्य हुनेछ।
गत शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विदेशमन्त्री वाङ यीको भ्रमणले अफगानिस्तानमा ‘शान्ति र स्थायित्वलाई’ बढावा दिने बताएका थिए।
उनले भनेका थिए,‘अफगानिस्तानमा सिर्जना भएका अवस्थाहरुको विकास एउटा महत्वपूर्ण मोडमा पुगेको छ। अफगानिस्तानको नजिकका छिमेकीहरूको रूपमा एससीओका सदस्य राष्ट्रहरूले अफगानिस्तानमा शान्ति, मेलमिलाप र पुनर्निर्माण प्रक्रिया प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्न सक्छन्।’
सांघाईस्थित फुदान युनिभर्सिटीका अन्तर्राष्ट्रिय मामिलाका अनुसन्धानकर्ता तथा पूर्व कूटनीतिज्ञ दु योकाङका अनुसार अमेरिकी सेनाले चाँडै अफगानिस्तान छाड्दा एससीओ राष्ट्रलाई सुरक्षा चुनौती थपिएको छ।
वाङ यी जुन तीन देशको भ्रमणमा जाँदैछन् उनीहरुको सीमा अफगानिस्तानसँग जोडिएको छ। दुका अनुसार वाङले एसीओका प्रतिनिधि र एसीओको अफगानिस्तान सम्पर्क समूहसँग छलफल गरेर अफगान सरकार र तालिबान विद्रोहीबीच शान्तिवार्ता गराउन सक्छन्।
यदी चीन यसरी शान्ति स्थापना गर्न सफल भयो भने उसले त्यहाँ र सो क्षेत्रका छिमेकीसँग आर्थिक गतिविधि बढाउनसक्ने दु योकाङको भनाइ छ।
सहमतिअनुसार अमेरिकी सेनाहरुले अफगानिस्तान छाडेता पनि यतिबेला तालिबानले भने सहमति विपरित हिंसा मच्चाएको अमेरिकाले आरोप लगाउन थालेको छ।
तालिबानले अफगानिस्तानका धेरै क्षेत्रमा कब्जा गर्न थालेको समाचारमा प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै कम संख्यामा रहेको तालिबानले सरकारी सेनालाई पराजित गर्न नसक्ने बताएका थिए।
जवाफमा तालिबानले आफूले चाहेमा केही हप्तामै देश हातमा लिनसक्ने बताएको थियो। एससीएमपी