हाइटीका राष्ट्रपति जोवेनेल मोइजकी घाइते श्रीमतीले राष्ट्रपतिमाथि हमला गरेर हत्या गरिएको घटनाबारे पहिलोपटक मुख खोलेकी छिन् ।
उक्त दुर्घटनामा राष्ट्रपतिकी श्रीमती गम्भीर रुपमा घाइते भएकी थिइन् ।
दिवंगत राष्ट्रपति मोइजकी श्रीमती मार्टिन मोइजले हमला यति तीब्र गतीमा भयो कि उनका श्रीमान् जोवेनेलले एक शब्दसमेत बोल्न नसकेको बताइन् ।
गत जुलाई ७ तारिखमा भाडामा लिएका २८ विदेशी सैनिकले राष्ट्रपति मोइजको हत्या गरेको बताइएको छ ।
हमलामा गम्भीर रुपमा घाइते भएकी राष्ट्रपतिकी श्रीमती मार्टीन मोइजलाई उपचारका लागि मायामी पुर्याइएको थियो ।
शनिबार उनले आफ्नो ट्वीटरमा एक भोइस मेसेज पोस्ट गरिन् । यसमा उनले भविष्यमा पनि आफूले आफ्नो काम जारी राख्ने बताइन् । उक्त सन्देशमा आएको प्रतिक्रियामा धेरैजसोले त्यो राष्ट्रपतिकी श्रीमतीकै आवाज भएको पुष्टि गरेका छन् ।
उक्त दुर्घटनाबारे जानकारी दिँदै मार्टिन मोइजले भनिन्, ‘आँखा झिम्काएको भरमा हमलाकर्ता मेरो घरमा प्रवेश गरे र मेरा श्रीमानलाई गोली हानेर चाल्नोजस्तो बनाइदिए ।’
उनले यो कृत्यलाई केही नाम दिन नसकिने बताउँदै जोवेनेल मोइजजस्ता राष्ट्रपतिको हत्या एक खुंखार र ठूलो अपराधीले मात्रै गर्न सक्ने बताइन् ।
उनले थपिन्, ‘यहाँसम्म कि हमलाकर्ताले उनलाई एक शब्द पनि भन्न मौका दिएनन् ।’
उनका अनुसार उनका श्रीमानलाई राजनीतिक कारणले निशाना बनाइएको हो, विशेषगरी संविधानमा परिवर्तनको मुद्दाको विषयमा, जसले राष्ट्रपतिलाई थप शक्ति दिन सक्दथ्यो ।
उनले भनिन्, ‘म विक्षिप्त छु.. यो साँचो हो तर हामीले देशलाई आफ्नो मार्गबाट भड्किन दिन सक्दैनौं ।’
उनले भनिन्, ‘हामी राष्ट्रपति जोवेनेल मोइज, मेरा श्रीमान्, हाम्रा राष्ट्रपति, जसलाई हामी असाध्यै माया गर्दछौं र जसले बदलामा हामीसँग प्रेम गर्दथे, हामी उनको रगतलाई बर्बाद हुन दिँदैनौं ।’
बीबीसी