न्यूयोर्क । गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
दुई कार्यकाल एनआरएन एनसीसी अमेरिकाको सफल नेतृत्व गरेका डा. केशव पौडेल अमेरिकाको नेतृत्वमा रहँदा गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय संविधानमा राख्न लबिङ गरेका पौडेलले राष्ट्रिय विज्ञान एकेडेमी, अमेरिकामा सामुदायिक भवन निर्माण आदिमा महत्वपूर्ण भूमिका खेलिसकेका छन् ।
अमेरिकामा नेपालीबीच सहयोग आदानप्रदान तथा विभिन्न काममा सक्रिय भूमिका खेलेका डा. पौडेलले अब आफ्नो अनुभव आईसीसीमा उपयोग गर्ने उद्देश्यका साथ अघि बढ्न लागेको बताए । ‘भिजनसँगै काम गर्न सक्ने क्षमता भएको नेतृत्व आउनु जरुरी छ,’ उनले भने,‘त्यसैले यसपाली महासचिवमा उठ्ने सुझाव साथीभाईले दिनुभएको छ ।’
अमेरिकामा अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिकोको अध्यक्ष समेत भईसकेका डा. पौडेल सामाजिक क्षेत्रमा आफ्नो अनुभव र सक्रियताले नै आफूलाई महत्वपूर्ण पदमा रहेर काम गर्ने चाहना भएको बताउँछन् ।
पौडेल विदेशमा रहेका नेपालीले स्वदेशमा ठूलो लगानी र सहायता गरिरहेको भन्दै आफूले पुलको भूमिका खेल्न सक्ने बताए । ‘विदेशमा रहेका नेपालीले स्वदेशमा पु¥याएको योगदानका आधारमा उनीहरुलाई अझ सुविधा र सहजता प्रदान गर्न नेतृत्वमा गएर काम गर्न सकिन्छ भनेर लागेको हुँ,’ उनले भने,‘विश्वभरका नेपालीबाट साथ पाउने आशा छ ।