अमेरिकामा तिती ग्लोबलमाथि मुद्दा

-


     नेपालय न्युज    
     असार २५ गते २०७८


न्यूयोर्क (अमेरिका) । चिनियाँ अनलाइन टयाक्सी सेवा प्रदायक कम्पनी तिती ग्लोबलमाथि मुद्दा दायर गरिएको छ ।

चिनियाँ नियामकहरुले कम्पनीमाथि छानिबिन शुरु गरेसँगै अमेरिकामा तितीको शेयर मूल्य धमाधम घटेपछि रुष्ट भएका अमेरिकी लगानीकर्ताहरुले कम्पनीमाथि दुई ओटा मुद्दा हालेका हुन् ।

न्यूयोर्क स्टक एक्सचेञ्जमा कम्पनीको शेयर डेब्यू भएको एक हप्तापछि यी मुद्दाहरु दायर भएका हुन् । मुद्दा न्यूयोर्क र लस एञ्जलसको संघीय अदालतमा दायर भएका हुन् ।

यसमा तितीले चिनियाँ अधिकारीहरुसँग साइबर सुरक्षा कानून र नियमनबारे चलिरहेको विद्यमान वार्ताबारे खुलाउन असफल भएको उल्लेख गरिएको छ । मुद्दामा तितीका प्रमुख कार्यकारी अधिकृत विल वई चेङ र अन्य कयौं कार्यकारी र निर्देशकहरुको नाम पनि उल्लेख छ ।

कम्पनीको शेयर विक्रीका लागि नियुक्त गोल्डम्यान श्याख्स, मोर्गन स्ट्यान्ली र जेपी मोर्गन चेजलाई पनि प्रतिवादी बनाइएको छ । नियामकहरुले चीनक एप स्टोरहरुलाई तितीको एप डाउनलोड रोक्न आदेश दिएपछि कम्पनीको अमेरिकी बजार मूल्य २० प्रतिशतभन्दा धेरैले घटेको छ ।

एपले गैरकानूनी तवरले प्रयोगकर्ताहरुको व्यक्तिगत डेटा संकलन गर्ने गरेको चीनको साइबर सुरक्षा नियामकले बताएका छन् । चीनको साइबर स्पेश प्रशासनले जुलाई २ मा कम्पनीमाथि अनुसन्धान शुरु गरेको बताएको थियो ।

मंगलवार मात्रै कम्पनीको शेयर पूँजीकरण करीब १५ अर्ब डलरले घटेको थियो । चिनियाँ नियामकहरुले साइबर सुरक्षासम्बन्धी चासोका कारण शेयर विक्रीमा ढिलाई गर्न भनेको खुलासा पनि भएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com