अमेरिकन नागरिकलाई खोप लगाउन राष्ट्रपति बाइडेनको आग्रह


     नेपालय न्युज,     
     असार २३ गते २०७८


अमेरिकी राष्ट्रपति बाइडनले सबै नागरिकलाई बिना हिचकिचाइ खोप लगाउन पुनः आग्रह गरेका छन् । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा पुगेर भएपनि खोप अभियानलाई सम्पन्न गर्ने र नागरिकलाई महामारीबाट सुरक्षा प्रधान गर्ने उनले बताएका छन् ।

जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो मात्रा खोप लगाउने लक्ष्य पूरा गर्न बाइडन प्रशासनले घरदैलो कार्यक्रम शुरु गरिसकेको छ । अति सङ्क्रामक मानिएको कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।

बाइडनले भने, “अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर–घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।” अमेरिकीहरूबीच खोप अभियानबारे सकारात्मक तथा नकारात्मक दुबै बुझाई रहेको पाइन्छ । सरकारको यस कार्यक्रमको आलोचकहरूले खोपको विश्वसनियतामाथि अविश्वास प्रकट गर्न पाउने बताएका छन् । सरकारले खोप उपलब्ध गराउनुपर्ने तर लगाउने नलगाउने निर्णय लिन व्यक्तिलाई स्वतन्त्रता दिनुपर्ने कोभिड–१९ विरूद्धको खोपका आलोचकहरूको भनाइ रहेको छ ।

अमेरिकामा खासगरी केही रिपब्लिकन सांसद र सदस्यहरू धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने–नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै उनीहरूले घर घर आउनेहरुलाई वेवास्ता गर्ने बताएका छन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com