इंग्ल्याण्डमा दुवै डोज खोप लगाएका व्यक्ति आइसोलेशनमा बस्न नपर्ने

-


     नेपालय न्युज    
     असार २२ गते २०७८


लन्डन– कोरोनाविरुद्ध खोपको दुवै डोज लगाएका इंग्ल्याण्डवासीहरुले आइसोलेशनमा बस्न नपर्ने भएको छ । यहि जुलाई १६ बाट लागू हुने गरि १८ वर्ष भन्दा कम उमेरका र खोपको दुवै डोज लगाइसकेका व्यक्तिहरुले आइसोलेशन बस्न नपर्ने भएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा आएपनि कोरोना पोजिटिभ नभएसम्म आइसोलेशन बस्न नपर्ने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । जसको लागि खोपको दोस्रो डोज लगाएको कम्तिमा दुई हप्ता भइसकेको हुनुपर्नेछ । तर, खोप लगाएका वा नलगाएका जो कोहिलाई कोरोना पोजिटिभ देखिएमा भने सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ ।

पछिल्लो समय बेलायतमा संक्रमणदर बढेपनि मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या अत्यन्त न्यून भएकोले खोपमाथिको विश्वसनीयता बढेको छ । इंग्ल्याण्डमा खोपको दुवै डोज लगाएकाहरुलाई विभिन्न क्षेत्रमा थप सहज गरिने अधिकारीहरुले बताउँदै आएका छन् । दुवै डोज खोप लगाएका अन्तरराष्ट्रिय उडानबाट आएका यात्रुहरूका सम्बन्धमा पनि सरकारले थप सहज पार्ने बताएको छ ।

इंग्ल्याण्डमा विगत लामो समयदेखि जारी लकडाउन पनि यहि जुलाई १९ बाट अन्त हुने प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बताएका छन् । गत महिना नै लकडाउन अन्त गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि थप चार हप्ताको लागि पछि धकेलिएको थियो ।

पछिल्लो तथ्यांकलाई मध्यनजर गर्दै आउँदो हप्ता समिक्षा गरेर लकडाउन सम्बन्धि विस्तृत जानकारी गराइने भएको छ । जुलाई १९ बाट ६ जना भन्दा बढी जमघट गर्न नपाइने हालको नियम, पब र रेष्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सिमित दर्शकको नियम पनि हट्नेछ ।

साथै, हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि १६ महिनापछि हटाइने भएको छ । विवाह, अन्त्येष्टी र अन्य इभेन्टमा जति पनि सहभागी हुन पाउनेछन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com