चीनबाट एप हटाउँदा व्यवसाय प्रभावित हुने तितीको भनाइ

-


     नेपालय न्युज    
     असार २१ गते २०७८


असार २१, पेचिङ (चीन) । घरेलु स्टोरबाट एपलाई हटाउँदा आफ्नो आम्दानीमा प्रतिकुल असर पर्ने चीनको सबैभन्दा ठूलो अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तिती छुसिङले चेतावनी दिएको छ । चीनको इन्टरनेट नियामकहरुले एप स्टोरहरुलाई तितीको एप हटाउन आदेश दिएका थिए ।

कम्पनीले प्रयोगकर्ताहरुको डेटा अनुचित रुपमा संकलन गर्ने गरेको नियामकहरुको भनाइ छ । कम्पनीले न्यूयोर्क स्टक एक्सचेञ्जमा शेयर बेच्न थालेको केही दिनपछि नियामकहरुले कम्पनीमाथि कडाई गरेका हुन् । एप स्टोरबाट एपलाई हटाउँदा यसका विद्यमान प्रयोगकर्ताहरुलाई प्रभाव पर्दैन । तर नयाँ प्रयोगकर्ताहरुले देशकै सबैभन्दा ठूलो अनलाइन टयाक्सी सेवामा आफ्नो नाम दर्ता गराउन पाउने छैनन् ।

कम्पनीले कुनै पनि समस्या समाधान गर्न, जोखिम रोकथाम सचेतना सुधार्न र प्राविधिक क्षमता सक्दो प्रयास गर्ने, प्रयोगकर्ताको गोपनियता र डेटा जोगाउने र आफ्ना प्रयोगकर्ताहरुलाई निरन्तर सुरक्षित र सहज सेवा प्रदान गरिरहने तितीले एक विज्ञप्तिमा भनेको छ ।

पटक पटक जाँच र रुजुपछि तिती छुसिङको एपले व्यक्तिगत सूचनाको संकलन र प्रयोगसम्बन्धी नियमनको गम्भीर उल्लंघन गरेको पाइएको चीनको साइबरस्पेश प्रशासन (सीएसी)ले बताएपछि कम्पनीको सो विज्ञप्ति आएको हो ।

राष्ट्रिय सुरक्षा र सार्वजनिक हितको सुरक्षा गर्न आफूले कम्पनीमाथि अनुसन्धान गरिरहेको दुई दिअघि सीएसीले बताएको थियो । नियामकको यस अभिव्यक्तिपछि तितीको शेयर मूल्यमा कमी आएको थिथयो । हरेक दिन तितीले ठूलो परिमाणमा प्रयोगकर्ताको डेटा संकलन गर्ने गरेको छ । यीमध्ये केही डेटा यसले स्वचालित ड्राइभिङ प्रविधि र ट्राफिक विश्लेषणका लागि प्रयोग गर्ने गर्दछ ।

गत हप्ता मात्रै कम्पनीले न्यूयोर्क स्टक एक्सचेञ्जमा डेब्यू गरेको थियो । शुक्रवार कारोबार बन्द हुँदा कम्पनीको बजार पूँजीकरण ७४ अर्ब ५० करोड डलर कायम भएको थियो । कम्पनीले प्राथमिक शेयर निष्कासनमा ४ अर्ब ४० करोड डलर उठाएको थियो । यो अमेरिकामा सन् २०१४ मा अलिबाबाको डेब्यू यता अमेरिकामा चिनियाँ कम्पनीको सबैभन्दा ठूलो डेब्यू थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com