
असार १९, बार्सिलोना । अमेरिकी चिप निर्माता कम्पनी क्वालकम इंकको नयाँ सीईओ क्रिस्टियानो एमोनले हुवावेई कम्पनी एप्पल सरह शक्तिशाली रहेको बताएका छन् ।
हालैमात्र कम्पनीको सीईओ नियुक्त भएका उनले स्मार्टफोनको बजारमा एप्पलजस्तै हुवावेई पनि उक्तिकै शक्तिशाली रहेको बताएका हुन् ।
उनले चिनियाँ बजारमा समेत क्वालकमलाई बलियो बनाएर अझ धेरै आम्दानीको स्रोत निर्माण गर्ने अपेक्षा रहेको बताए । उनले जुन रुपमा आज हुवावेईको बजारमा ठूलो असर परेको छ, त्यसले स्मार्टफोनको बजारमा एउटा ‘ग्याप’ सृजना भएको बताए ।
उनले हाई–इन्ड स्मार्टफोनमा हुवावेईका लागि राम्रो अवसर रहेको र त्यसैबाट पनि एप्पलको जस्तै ठूलो बजार स्थापित गर्नसक्ने बताए । उनले चिनियाँ ब्राण्डमा लगाइएको प्रतिबन्धका कारण कम्पनीको आम्दानीमा समेत असर परेको उल्लेख गरेका छन् ।
गत वर्ष मात्रै कम्पनीले चिपसेटको विक्रीबाट १६ दशमलव ५ बिलियन डलर आम्दानी गरेको थियो जसमा १२ दशमलव ८ बिलियन डलर आम्दानी मोबाइल फोनबाटै भएको थियो ।
स्मार्टफोनको बजारमा कम्पनीलाई अझ बढी प्रभावकारी बनाउँदै लाने योजना रहेको उनले सुनाए । हालैमात्र २६ वर्षदेखि कार्यरत क्वालकमका सीईओ स्टीभ मोलेन्कोफले अवकाश पाएका थिए ।
कम्पनीले फाइभजी नेटवर्क प्रविधिको तीव्र खालको संस्करणको विकास गर्न ४० भन्दा धेरै मोबाइल सेवा प्रदायक र दूरसञ्चार उपकरण निर्माता प्रदायकहरुसँग मिलेर काम गर्ने बताएको छ । एजेन्सी