असार १५, क्यालिफोर्निया(अमेरिका)। सामाजिक सञ्जाल फेसबुक १० खर्ब डलर भएको पाँचौ ठूलो अमेरिकी कम्पनी बनेको छ ।
शेयर बजारमा आएको ४ दशमलव २ प्रतिशतले वृद्धि भएसँगै फेसबुकले यो सफलता हात पारेको हो । शेयर सूचक नास्डाकले कम्पनीको प्रतिशेयर मूल्य हाल ३५५ दशमलव ६४ अमेरिकी डलर पुगेको देखाएको छ ।
फेसबुक निगम एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन अमेरिकाको मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ।
यो सूचीमा यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गूगल रहेका छन् । त्यसमध्ये माइक्रोसफ्ट र एप्पल कम्पनीको मूल्य २० खर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ । अमेरिकी फेडरल ट्रेडले उत्तः कम्पनीविरुद्ध हालेको एन्टिट्रस्टको मुद्धामा कम्पनीको पक्षमा निर्णय भएसँगै कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो ।
सन् २०१२ मा अमेरिकी शेयर बजारमा सूचकृत भएको फेसबुकको शेयर निरन्तररुपमा बढिरहेको छ । सन् २०१८ मा कम्पनीको आम्दानीमा आएको गिरावटका कारण कम्पनीको शेयर एकैपटक १९ प्रतिशतले घटेको थियो ।
तर, त्यसपछि भने निरन्तर शेयर मूल्य बढिरहेको छ । हाल कम्पनीको शेयरमूल्य सन् २०१८ को तुलनामा ९० प्रतिशतले बढी भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी