कैलाश झै उच्च र शुद्ध नैतिक
कादम्विनी तुल्य विवेक पूरक ।
कर्पुर सौगन्ध विशेष द्योतक
कृष्ण नदीको तटमै छ साधक ।।
।।१।।
आजन्म आरोग्य र पूर्णजीवन
मिल्ला भए मानसवृत्त पावन
श्री कृष्ण विष्ट व्यवहार–कौशल
सन्मित्रका द्योतक ठान्छु मञ्जुल ।।
।।२।।
टाढा भएता पनि देह भौतिक
आत्मा त एकै छ सदैव नैष्टिका
माधुर्यता वढ्छ यथार्थतामा सित
यात्रा अनी कञ्चन हुन्छ स्नेहत ।।
।।३।।
हो भारतीको नव भावनायुत
सान्निध्यता राख्न सदैव संस्मृत
होइन नौलो सुरुआतकै वुझौ
आदर्श–गंगाजल भित्र नै रुझौ ।।
।।४।।
मिल्दो छ नै संगति चन्द्रमा सरी
ढाक्दैन कैल्यै पनि मेघको झरी
होस् पूर्णता स्थीर अपूर्णता हटोस
श्री कृष्णको ज्योति झलल्ल भै रहोस् ।।
।।५।।
लक्ष्मीराज शर्मा पौडेल