
अमेरिका र भारतले गतवर्ष सुरक्षा खतरा उत्पन्न गराउनसक्ने भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
यी दुवै देशले टिकटक लगायत ५९ भन्दा बढी एप्समा प्रतिबन्ध लगाएका थिए।
तर विश्वचर्चित यस भिडिओ सेअरिङ एप टिकटकमा प्रतिबन्ध लाग्दासमेत टिकटकको स्वामित्व भएको बाइटडान्स कम्पनीले गतवर्ष आफ्नो आय दोब्बर बनाएको छ।
आफ्ना कर्मचारीका लागि आन्तरिक रूपमा जारी गरिएको एउटा सूचनामा उक्त कम्पनीको आम्दानी सन् २०२० मा १११ प्रतिशतले बढेर ३४.३ अर्ब डलर पुगेको देखिन्छ।
उक्त तथ्याङ्कले टिकटकको विश्वव्यापी लोकप्रियतालाई देखाउँछ। बाइटडान्स र अन्य ठूला चिनियाँ प्रविधि कम्पनीहरू विश्वभरिका सरकारहरूबाट बढ्दो दबाव सामना गरिरहेका बेला यो विवरण आएको हो।
बाइटडान्सको वार्षिक नाफा पनि ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको छ भने त्यसै अवधिमा उसको खुद घाटा पनि ४५ अर्ब डलर भएको छ।
खुद घाटा लेखाको गणनामा मिलान गर्दा देखिएको तर यो कम्पनीको सञ्चालनसँग सम्बन्धित नभएको बताइएको छ।
उक्त पत्रले गत वर्षको डिसेम्बरसम्ममा बाइटडान्सका सबै उत्पादनका प्रयोगकर्ताको कुल सङ्ख्या १.९ अर्ब रहेको देखाएको छ। बीबीसी