गण्डकी प्रदेश सरकार ७ दिनमै ढाल्ने एमालेको यस्तो थियो मास्टरप्लान, सूचना लिक हुँदा सबै चकनाचुर

-


     नेपालय न्युज    
     असार ५ गते २०७८


काठमाडौं । गण्डकी प्रदेशका दुई सांसदलाई जिल्लामै होल्ड गराएर शुक्रवारका लागि तय प्रदेशसभा वैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत पुर्याउन नदिने नेकपा एमालेको ओली समूहको मास्टरप्लान फेल भएको खुलासा भएको छ ।
प्रदेशसभामा विद्यमान ५९ सांसद मध्ये ३१ सांसद मुख्यमन्त्री पोखरेलको पक्षमा रहेकोले विश्वासको मत पाउने अवस्था आउन नदिन मनाङका दुई सांसद दीपक मनाङ्गे र चिन्ताबहादुर घलेलाई जिल्लामै होल्ड गराउने एमालेको योजनाबारेको सूचना लिक भएपछि विफल भएको स्रोतको दाबी छ ।

जिल्लामा बाढी र पहिरोले जनधनको क्षति भएको खबर आएपछि सांसदद्वय मनाङ्गे र घलेले गृहमन्त्रालयको समन्वयमा राहत सामाग्रीसहित विहीवार मनाङ जाने कार्यक्रम तय भएको थियो । यसरी राहतसहित जिल्ला पुगेका दुवै सांसदलाई विभिन्न वाहनामा जिल्लामै रोकेर विश्वासको मत लिने प्रदेशसभा वैठकमा अनुपस्थित गराउने योजना एमालेको थियो ।

तर एमालेको मास्टरप्लानबारेको सूचना कसो कसो मुख्यमन्त्री पोखरेलसम्म पुग्यो । त्यसैले उनले आफू पनि सांसदद्वयसँग मनाङमा जाने जानकारी गृहमन्त्रालयलाई गराए । बुधवार भएको जानकारी र सहमति अनुरुप विहीवार विहान ७ बजे काठमाडौंबाट सांसद मनाङ्गे र घलेसहित सेनाको हेलिकोप्टर पहिले पोखरा जाने र त्यहाँबाट मुख्यमन्त्री पोखरेललाई लिफ्ट दिएर मनाङ उड्ने तय भएको स्रोतको भनाइ छ ।

तर विहीवार विहान मनाङ्गे र घलेलाई बोकेर राहत सामाग्रीसहित उडेको सेनाको एमआइ सभेन्टिन हेलिकोप्टर पोखरामा नगएर सीधै मनाङको चामेमा अवतरण भयो । उता पोखरामा विहान ७ बजे नै कुरेर बसेका मुख्यमन्त्री पोखरेलले समय घर्किसक्दा पनि हेलिकोप्टर नआएपछि गृहमन्त्रालयका अधिकारीलाई टेलिफोन गरे । गृहले हेलिकोप्टर चामेमा पुगिसकेको जानकारी गराएपछि मुख्यमन्त्री पोखरेलले जसरी भए पनि आफूलाई मनाङ पुग्नुपर्ने र हेलिकोप्टर व्यवस्था गरिदिन अडान राखे । केही सीप नलागेपछि चामेमा सांसदद्वय मनाङ्गे र घलेलाई राहत सहित ओरालेर त्यही हेलिकोप्टर पुनः पोखरा पुगेर मुख्यमन्त्री पोखरेललाई लिएर चामे फर्कियो ।

के थियो मास्टर प्लान ?

राहत सामाग्रीसहित मनाङका बाढीपहिरोग्रस्त क्षेत्रको भ्रमणमा जान लागेका स्वतन्त्र सांसद तथा प्रदेश मन्त्री दीपक मनाङ्गे र काँग्रेस सांसद चिन्ताबहादुर घलेलाई मौसम प्रतिकुल भएको वाहनामा मनाङमै होल्ड गरेर प्रदेशसभा वैकठमा अनुपस्थित गराउन सके प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा दुई मत घटेर २९ मा सीमित हुने सोझो हिसाव एमालेको थियो । अन्ततः सरकार गठनका लागि आवश्यक मत नपुगेको अवस्थामा बाध्य भएर मुख्यमन्त्री पोखरेलले प्रदेशसभा विघटनको बाटो रोज्नुपर्ने हुन्थ्यो । जुन एमालेको पहिलेदेखिको रणनीति थियो ।

मनाङ्गे र घलेलाई चामेमा छोडेर अन्यन्त्र उद्दारका लागि जानुपर्ने भन्दै हेलिकोप्टरलाई फिर्ता बोलाउने र त्यस दिनको मौसमी अवस्था अनुसार हेलिकोप्टर आउन नसक्ने जानकारी गराएर त्यसदिन मनाङमै होल्ड गराउने योजना बनाइएको थियो । भोलिपल्ट शुक्रवार अर्थात प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सबै हेलिकोप्टरलाई उद्दार र चार्टरका लागि प्रिबुक भैसकेको जानकारी गराएर ढिला गरेर मात्र आफूहरुलाई लिन आउने मास्टर प्लान बनेको खुलासा भएको काँग्रेस सांसद घलेले दाबी गरे ।

एमालेको उक्त मास्टरप्लानबारे थाहा पाएपछि उनले मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए । त्यसपछि मुख्यमन्त्री पोखरेलले आफूलाई जसरी भएपनि मनाङ जानुपर्ने भन्दै गृहलाई दबाब दिन थाले । केही सीप नलागेर अन्ततः चामेबाटै हेलिकोप्टरलाई पोखरा पठाउन गृह बाध्य भयो ।

नभन्दै मौसम प्रतिकूलताका कारण मुख्यमन्त्री पोखरेलसहित सांसदद्वय मनाङ्गे र घले विहीवार मनाङमै रोकिए । उनीहरु शुक्रवार विहान मात्र पोखरा फर्किएका थिए ।

शुक्रवार बसेको प्रदेशसभा वैठकमा मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरे । उनको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ३१ मत अर्थात बहुमत सरकार गठनका लागि आवश्यक मत प्राप्त गरे । विपक्षमा एमालेका २७ सांसदले मत हाले ।

-जनतासमाचार बाट साभार

WP2Social Auto Publish Powered By : XYZScripts.com