कर्मशील कृष्णचन्द्र ः शिक्षक, वकिल हुँदै मुख्यमन्त्री

- गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ

-


     नेपालय न्युज    
     जेठ २९ गते २०७८


पोखरा ।
बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागको पर्याय हुन् ।
संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट होमिए । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् । एमाले माओवादी गठवन्धनको बहुमत आएसँगै कांग्रेस संख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बन्यो । प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिए कृष्णचन्द्र नेपाली पोखरेल ।
प्रदेश सभाका कामकारवाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उनी हरसमय क्रियाशील रहे । बजेट बाँडफाँटमा सरकारको मनोमानी होस या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस उनले संसदमा सशक्त आवाज उठाए र सरकारलाई सच्चिन वाध्य बनाए । कोभिडको महामारी नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै बारम्बार गराइएको ध्यानाकर्षण सरकारले वास्ता गरेन । १ घर १ पिसिआरदेखि प्रत्येक जिल्लामा पिसिआर मेसिन राख्नका लागि गरिएको माग सुनुवाई नभएपछि उनकै नेतृत्वमा प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरियो । प्राविधिक रुपमा संकल्प प्रस्ताव फेल भए पनि तत्कालीन समयमा कांग्रेसको एजेन्डा सही थियो । जुन विषय संसदका विशेष अधिवेशनले पुष्टि गरिदियो ।
बाबु गोबद्र्धनको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकै थियो । आमाबाट कृष्णचन्द्रले मातृवात्सल्य मात्र पाएनन् राजनीतिक संस्कार समेत सिके । २००६ साल मंसिर १३ गते जन्मेका उनी परिवारमा माइला छोरा हुन् । जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन् । जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइसकेका उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाए । साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कान्छा भाइ डा. सुवाशचन्द्र अमेरिका बस्छन् ।
प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवद्र्धन निर्वासनमा बसेका थिए । त्यति नै बेला अर्थात् २०२२ देखि २०२८ सालसम्म उनले पनि पिताकै साथमा भारतमा निर्वाासित जीवन बिताए । राजनीतिमा मात्र होइन उनी लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहे । काभ्रे र तनहुँका स्कुलमा उनले लामै समय पढाए । २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय थिए । जनमत संंग्रहमा कांग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उनलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो । त्यसपछि उनले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा संलग्न रहे ।
विद्यार्थीकालदेखि नै कृष्णचन्द्रमा राजनीतिक चेत थियो । २०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी । प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना बिताएका छन् । २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे । २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका उनले अर्को २ महिना जेलमा बसे । देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए । त्यसपछि ९ महिना पाल्पा जेल बसे ।
भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका उनले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक उत्तीर्ण गरे । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुने । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । उनको पढ्ने रहर त्यतिमै सिमित रहने कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरे ।
लामो समय कानुन व्यवसायमा आबद्ध उनी जनपक्षीय कानुनी सेवामा संलग्न रहे । प्रजातन्त्रको पक्षमा लागेकै कारण हिरासत र जेलमा परेका राजबन्दीको रिहाइका लागि उनले वकालत समेत गरेका थिए ।
२०४८ को अधिवेशनपछि उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए ।२०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड सम्हाले । त्यो बेला पनि पनि उनी जेल परे ।
कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए ।

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ५ जना मन्त्रीले लिए सपथ
गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।