जेफ बेजोस, लोन मस्कलगायत अमेरिकी खर्बपतिले आयकर छलेको खुलासा


     नेपालय न्युज,     
     जेठ २६ गते २०७८


अमेरिकाका अति धनाढ्यहरुले कम आयकर तिर्छन् वा तिर्दै तिर्दैनन् । तथ्याङ्कहरूको विश्लेषणपछि प्रो पब्लिका नामक वेबसाइटले यस्तो खुलासा गरेको छ । प्रो पब्लिकाका अनुसार यो सुचीमा जेफ बेजोस, इलोन मस्क र वारेन बफेटजस्ता विश्वकै धनी व्यक्तिहरु पर्छन् । फोर्ब्सले निकालेको विश्वकै धनाढ्यको पछिल्लो सुचीमा बेजोस पहिलो, मस्क दोस्रो र बफेट छैटौं नम्बरमा छन् । सन् २००७ र २०११ मा अमेजनका मालिक बेजोसले कर नतिरेको तथा २०१८ मा टेस्लाका मस्कले कर नतिरेको आरोप यो वेभसाइटले लगाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी प्रवक्ताले यस्तो खुलासालाई ‘अवैध’ भनेकी छिन् । कर अधिकारी र एफबिआईका अधिकारीहरुले यसबारे छानविन गरिरहेको उनले प्रतिक्रिया दिइन् । यसअघि प्रो पव्लिकले खर्बपतिको करबारे आन्तरिक राजस्व सेवाको तथ्याङ्क अध्ययन गरिरहेको जनाएको थियो । बाँकी कुरा विस्तृतमा आउने यस अनलाइनले जनाएको थियो ।

अमेरिकामा धनी व्यक्तिले तिर्ने कर र बढ्दो असमानता बारेको बहस बढ्दो अवस्थामा रहेका बेला यस्तो खुलासा भएको हो । प्रो पब्लिककाअनुसार अमेरिकाका अति धनाढ्य २५ व्यक्तिले कामदारको तुलनामा निकै कम कर तिर्छन् । ‘यदि तपाई खर्बौंपति हुनुभयो भने तपाईले करलाई शून्यमा झार्न सक्नुहुन्छ, यो कुराले हामीलाई चकित तुल्यायो’ प्रो पब्लिकका सम्पादक जेस्से इसिंगरले भने, ‘अति धनी व्यक्तिहरुले घाटा खोज्ने, ऋण खोज्ने लगायत कार्यमार्फत वैध बाटोबाट प्रणालीलाई छल्न सक्छन् । उनीहरुसँग प्रणालीमा रहेका प्वालहरू पहिचान गर्ने सामर्थ्य हुन्छ ।’

कम्पनीमा रहेका उनीहरुको सेयरको स्वामित्वको मूल्य ठूलो रुपमा बढ्दा पनि त्यसलाई आयका रुपमा दर्ता गरिँदैंन । धनाढ्यहरुले परोपकारी कार्य, दान वा तलबको साटो लगानीबाट मुनाफा भएको देखाएर कर कम गर्ने गरेका छन् । फोब्र्स म्यागेजिनले संकलन गरेको डाटालाई अध्ययन गर्दै प्रो पब्लिकले भनेको छ, ‘२५ जना अमेरिकी धनाढ्यहरुको सम्पत्ति २०१४ देखि २०१८ सम्म आइपुग्दा ४ सय १ विलयन डलरले बढेको छ । तर उनीहरुले यस अवधिमा १३ दशमलव ६ बिलियन डलर मात्रै कर तिरेका छन् ।’

समानता कायम गर्नका लागि धनाढ्यहरुमाथि कर बढाउने वाचा राष्ट्रपति जो बाइडेनले गरेका छन् । उनले आफ्नो महत्वाकांक्षी पूर्वाधार लगानी कार्यक्रममा यो रकम खर्चिने जनाएका छन् । यस नीतिपछि धनाढ्यहरुले तिर्नुपर्ने कर बढ्ने भएपनि शीर्ष २५ भित्र रहेका धनाढ्यहरुमा यसको असर कमै देखिने प्रो पब्लिकले जनाएको छ ।

खर्बपतिको सुचीमा रहेकामध्ये परोपकारी मानिएका जर्ज सोरोसले पनि निकै कम कर तिरेका छन् । लगानीमा घाटा व्यहोर्नु परेकाले केही वर्षदेखि कर तिर्न नसकेको उनले प्रो पब्लिकलाई दिएको बयानमा उल्लेख छ । अमेरिकाका अति धनाढ्यमाथि कर लगाउनुपर्ने पक्षमा आफु रहेको उनले बताएका छन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com