
साङहाई (चीन) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकको चीनमा विक्री बढेको छ ।
तर यो सुध्रिएर मार्चको स्तरमा भने आउन सकेन । त्यहाँको यात्रुबाहक कार संगठन (सीपीसीए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार मेमा कम्पनीले ३३ हजार ४६३ थान सवारी साधन बेचेको छ । यो अप्रिलको तुलनामा २९ प्रतिशत धेरै हो ।
तर यो मार्चको तुलनामा भने कम हो । मार्चमा चिनियाँ बजारमा कम्पनीका ३५ हजार ४७८ थान कार विक्री भएका थिए । टेस्लाको कारका ब्रेक फेल भएको गुनासोहरु आएपछि कम्पनीमाथि नियामक निगरनी बढेको भएपनि गत महीना विक्री बढेको छ । विश्वभर चिप अभावका कारण पनि अटो उद्योगले उत्पादन कटौती गरेका छन् ।
यो खबर सार्वजनिक भएपछि न्यूयोर्कमा कम्पनीको शेयर मूल्य घटेको थियो । मेमा टेस्लाले शाङहाईको कारखानाबाट ११ हजार ५२७ थान कार विक्री गरेको थियो । यो अप्रिलको तुलनामा कम हो । मार्चको तथ्यांक भने उपलब्ध छैन ।
मे महीनामा समग्रमा विशुद्ध विद्युतीय कारको विक्री एक वर्ष अघिको तुलनामा दोब्बरभन्दा बढी छ । चीनमा गत महीना विशुद्ध विद्युतीय कारको विक्री १८६ प्रतिशतले बढेर १ लाख ६२ हजार थानमा पुगेको सीपीसीएले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
यद्यपि, चीनका केही अटो उद्योगले भने संगठनले सार्वजनिक गरेको तथ्यांकको शुद्दतामाथि शंका गरेका छन् । एजेन्सी