
वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको सिनेटले प्रविधि अनुसन्धान र उत्पादनलाई टेवा दिन व्यापक खर्च योजना पारित गरेको छ । अन्तरराष्ट्रिय विशेगषगरी चीनबाट प्रतिस्पर्धा बढिरहेकै समयमा सो प्रस्तावित उपायहरु ल्याइएको हो ।
चीनको तर्फबाट उत्पन्न भएको जोखिमलाई बढाइचढाइ गरेको भन्दै चिनियाँ अधिकारीले विधेयकको आलोचना गरेका थिए ।
विधेयकलाई कानूनमा परिणत गर्नुअघि प्रतिनिधि सभाले पनि यसलाई पारित गर्नु पर्नेछ । कंग्रेसको माथिल्लो सदनमा भएको मतदानमा १०० मध्ये ६८ सिनेटरले विधेयकको पक्षमा मत दिएका थिए भने ३२ जनाले विपक्षमा दिएका थिए । चीनको आर्थिक र सैनिक महत्वकांक्षाको जवाफ दिनलाई रिपब्लिकन र डेमोक्रेटहरु एकजूट रहेको यसले देखाएको विश्लेषण गरिएको छ ।
सिनेटमा दुवै दलका सिनेटहरु बराबरी जस्तै छन् । यो अमेरिकी इतिहासको सबैभन्दा ठूलो औद्योगिक खर्च योजना भएको समर्थकहरुले बताएका छन् ।
विधेयकले प्रविधि अनुसन्धान, चिप विकास र उत्पादनका साथै रोबोट निर्माता र चिप निर्माताहरुलाई अनुदान दिने करीब २ खर्ब ५० अर्ब डलर डलर खर्च जुटाइदिने अनुमति दिनेछ ।
पछिल्लो समय चिप अभावका कारण विश्वभरका अटो निर्माताहरु मारमा परेका छन् । विधेयकमा चीनको नामै तोकेर सरकारी उपकरणहरुमा सामाजिक सञ्जाल एप टिकटक डाउनलोडमा प्रतिबन्ध लगायत केही प्रावधान पनि राखिएका छन् । चीनको सरकारी कम्पनीहरुले बनाएको र बेचेको ड्रोन खरीदमा पनि रोक लगाइनेछ ।
अमेरिकी साइबर हमला वा अमेरिकाको बौद्धिक सम्पत्ति चोरीमा संलग्न संस्थाहरुमाथि विधेयक पारित भएपछि प्रतिबन्ध लाग्नेछ । अमेरिका र चीनबीचको सम्बन्ध चिसिएकै बेलामा विधेयक पारित भएको छ ।
अमेरिकाले चीनसँग सम्बन्धित तथ्यहरुलाई बंग्याएको र चीनको विकास मार्ग र यसको घरेलु तथा विदेश नीतिलाई कलंकित तुल्याउन सक्ने भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनेका थिए । पारित विधेयकको अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशंसा गरेका छन् । एजेन्सी